क्याप्टेन अमरको सपना

अफिसको ढोका खोलेर भित्र पस्नसाथ टेबल माथिको सानो कागजको टु्क्रामा आँखा परे। एउटा सानो नोटमा ‘अत्यन्त जरुरी छ, बाबु फोन गर्नु’ भनेर मोबाइल नम्बर छोडेको रहेछ।

झण्डै साँझको ६ बजीसकेको थियो। कार्यलय सहयोगी घर गईसकेका थिए। कसको मेसेज हो? कमसेकम फोन गर्ने मान्छेको नाम त टिप्नु पर्छ नि भन्दै एक्लै रिसाएँ। र हतार-हतार नम्बर डायल गरेँ।

दुई घण्टी जाने बितिकै

‘हेलो बाबु… मेरो मोबाईल बिग्रेको छ। यो छिमेकी भाइको नम्बर।’
मेरो जीउ सिरिंग भयो। आवाजले चिनिहालेँ।

‘दर्शन हजुर! आराम हुनुहुन्छ?’

उताबाट हुकुमी शैलीमा आदेश आयो ‘फाल्गुन २५ गते बहिनीको बिहे छ। कार्ड केही छापेको छैन। बाबुलाई फोनबाट नै निम्तो भो! जसरी पनि आउनु। तिमीले यो कुरा बुझिराख्नु।’

जंगबहादुर थापा, मेरो साथी अमरको बुबा हुन्।

२०५८ माघ महिना, मौसम एकदम चिसो थियो। त्यस माथि पनि माघे झरि। बिहानै हरियो चुस्तामा क्याप्टेन अमर मेरो ढोकामा आईपुगेछ। साथी मेरो कुरा बुझ्ने तिमी नै हौ। मेरो घरमा अत्यन्त जरुरी काम पर्यो, त्रिशुली जानुपर्यो।

देशमा संकटकाल अनि काठमाडौँदैखि त्रिशुली झण्डै ९० किलोमिटर बाटो। त्यसमा पनि युनिर्फम लगाएर जंगलको बाटो। मैले ठाडै नजाउ भनेँ। मैले केहीबेर, घर एक्कासी किन घर जानु पर्ने भो? भन्दै उसलाई सोधेँ। तर उसको जिद्धी अगाडि मेरो केही लागेन। एक मनले सोचेँ, घरमा केही नराम्रो पो भएछ कि!

बिहानै त्रिशुली लागियो। तादी खोलाको पुल तरेपछि अमरले भन्यो- ‘हेर केटा! मेरो घरमा बिहेको कुरा तैंले गरिदिनु पर्यो। जंगबहादुरको अगाडि म बोल्न सक्दिनँ।’

म झसंग भएँ, अलिअलि रिस पनि उठ्यो।

‘बाइक रोक! म यहीबाट फर्कन्छु। आज, तेरो बाउले मेरो टाउको फुटाउने भए, अहिले नै त्यहाँ एम्बुलेन्स बोलाई राख।’

मेरो तनाव देखेर अमरले हाँस्दै भन्यो, ‘केटा धन्दा नमान, जंगबहादुरले आक्रमण गरि हाले भने झ्यालबाट नै कमान्डो जम्प गरेर भाग्नु पर्छ।’ उसले हाँस्दै भन्यो।

घरमा कुरो राखी नसकिदै एक्कासी जंगबहादुर जंगिएर भने ‘तिमीले यो कुरा बुझिराख्नु र अमरलाई बुझाईदिनु। यो घरमा अन्तरजातीय विवाह कदापि हुन सक्दैन।’

कुरा सुनाउनै नपर्ने। आखिर अमर पनि म जस्तै आज्ञाकारी बालक झै जंगबहादुरको अगाडि उभिएका थियो। हटि स्वभाव भएका जंगबहादुरको अगाडि हाम्रो केही लागेन। घरमा आमा र बहिनीको भने मौन समर्थन। मलिन अनुहारमा फर्किनु बाहेक हामीसँग कुनै विकल्प रहेन।

अमर, म र उसको प्रेमिका डाक्टर सपना शाक्य एकै क्लासको साथी थियौं। सपना शाक्य परिवारको एक्ली छोरी थिइन्। सपनाको आमालाई अमर सेनामा कार्यरत छन् भन्ने पहिलेदेखि नै थाहा थियो। हुन त शाक्य परिवारमा अनेक उपाय लगाएर अमर र सपनाको बिहेको कुरा नचलाएको होइन।

तर शाक्य बुढा पनि जंगबहादुर भन्दा कम थिएनन्। एक संकटकाल त्यसमा पनि सेनाको क्याप्टेन, जात नमिल्ने ‘अहँ! म छोरी दिन सक्दिनँ, हुनै सक्दैन।’

देश चरम द्वन्दमा थियौँ। हरेक दिन रणभूमिको समाचार। अमर, कहिले कहाँ, कहिले कहाँ सर्च अप्रेसन र उद्वारमा पुगिरहेकै थियो। म पनि आफ्नै काममा व्यस्त थिएँ।

झण्डैं एक महिनापछि अमरको फोन आयो। फोन उठाउने बित्तिकै एक सासमा भन्यो ‘पर्सि सपनाको अमृत प्रधानसँग इन्गेजमेन्ट हुने भो रे। जसरी पनि रोक्नु पर्यो। केही गर न केटा। म सर्च अप्रेसनमा छु। मलाई यताबाट फर्कन मात्र दे, शाक्य बुढाको घर बाहिर लगेर सैन्य परेड खेलाउछु…’

अन्ततः मैले सपनाको इन्गेजमेन्ट रोक्ने उपाय सुल्झाएँ। एक हप्ताको लागि सपना घरबाट भाग्ने। अमर फर्कने बित्तिकै अदालतमा गएर बिहे गर्ने। भोलि के हुन्छ, हामी कसैले सोचेनौँ। योजना अनुसार सपना शाक्य घरबाट भागिन्। भक्तपुरमा सँगै पढेकी समीक्षाको घरमा लुकायौँ।

यता शाक्य बुढाले छोरी माओवदी अपहरणमा परेको हुन सक्ने भन्दै हनुमान ढोका प्रहरीमा निवदेन दिए। हुन त बुढाले पनि शंका गरेको हुनु पर्छ सपना बिहेको लागि नै भागिन् भनेर।

‘कि लाश चाहियो कि सास? खोजि छिटो हुनु पर्यो।’ बुढा बुरुक्क उफ्रन्थे। प्रहरीले सबै कुरा चाल पाएको थियो र एउटै जवाफ दिन्थे। ‘खोजि तीव्र पारेका छौँ।’

भक्तपुरमा लुकेकी सपना भने हर घण्टा क्याप्टेन अमरको प्रतिक्षामा थिइन्। सपनाको आमाले बेला-बेला फोन गरेर मलाई मेरो छोरी भगाउने तिमीहरु हौ, अब मुद्वा हालेर जागिर चट् पारिदिन्छौँ भनेर थर्काई रहने। कहिले फकाउने। तनाव भएर मैले केही दिन फोन स्वीच अफ नै राखेँ।

एक्कासी टेलिभिजनमा ब्रेकिङ्ग न्यूज आयो। ‘ललितपुरको लेलेमा भिडन्त, युनिफाइड कमाण्डको एक प्लाटुन चढेको ट्रक माओवादीले थापेको एम्बुसमाु थप जानकारी आउन बाँकी…’

भक्तपुरमा लुकेकी सपना आत्तिन थालिन्। केही हुँदैन अमरलाई भन्नु बाहेक मसँग केही भएन। अमरलाई केही भयो भने म यही आत्महत्या गरिदिन्छु। आँखाभरी आँसु बगाएर सपनाले भनिन्। एक मनले शाक्य बुढालाई फोन गरेर सपना लिन आउ भनौँ जस्तो पनि लाग्यो। तर पनि धैर्य गर्दै अमरको पर्खाइमा बसेँ। रातभरी तनाब, कोही पनि सुत्न सकेनौँ।

भोलिपल्ट बिहानै घट्नास्थलमा तर्फ उडेको सेनाको हेलिकप्टरले घाइतेहरुको उद्वार गरिसकेछ। हतार-हतारमा छाउनी हस्पिटलमा सपनालाई लिएर गएँ। यता शाक्य बुढाले भेट्लान भन्ने डर।

धन्य…! अमर को दाहिने पाखुरामा छर्राले लागेको रहेछ। अमरले सपनाको आँसु पुछ्दै भन्यो ‘तिम्रो सिउँधो नभरेसम्म मलाई यमराजले पनि छुन सक्दैन’

अमर र सपना कानुनी रुपमा बिहे गरेर बस्न थाले। दुवै परिवारले अन्तरजातीय बिहेको विरोध गर्दै ढोका बन्द गरिदिए।

देशमा लडाई चर्किदै गयो। सपना सधैँ झै नियमित हस्पिटल जान थालिन्। केही समय बित्न देउ, जंगबहादुरले बोलाउने छन् भनेर म भने सम्झाईरहन्थेँ।

साउन महिना थियो। शनिबारको दिन। सपनाले बिहानै फोन गरिन्। ‘दाइ आज अमरको पनि बिदा छ, म भुजा यतै बनाउछु आउनु होला है।’

अमरकोमा जाँदै थिएँ। नजिकै रहेको स्टेशनरीमा छिरेर एउटा पत्रिका किनेँ, हेडलाइन थियो ‘माओवादीहरु पश्चिममा भिषण भिडन्त गर्ने तयारीमा…’

तीन जना हामी आफ्नै दुनियाँको गफमा व्यस्त थियौँ। अचानक अमरको मोबाइलमा घण्टी बज्यो। अमर फोन उठाउँदै अर्को कोठामा गयो। सन्देश आयो, अमरको सरुवा कालिकोट…!

अमर कालीकोट जानुभन्दा पहिले बहिनी पुजालाई सपनाको साथीको लागि काठमाडौँमा सँगै राख्न सुझाएँ। केही दिनमा अमर फौज लिएर कालिकोट हाजिर भयो।

केही हप्तापछि अमरलाई फोन गरेँ। ‘कस्तो छ कालीकोट?’ अमरलाई सोधेँ।

‘कंचन बग्ने तिला नदीको किनारमा छौँ। कर्णाली जोड्ने बाटो खन्दैछौँ। यी कर्णालीका पहाडहरु जति हेरे पनि धित मर्दैन। लाग्छ म सँधै यही बसौँ… सपनालाई सम्झाई राख्नु है।’

साउन महिना, काठमाडौँमा धुम्ब झरी परेर रिसायर बसेको जस्तो थियो। हेर्दा दिन नै अन्धकार जस्तो थियो। अचानक एफएम रेडियोले फुकिहाल्यो, ‘कालीकोटमा भिषण लडाई, ठूलो संख्यामा सैनिक हताहती।’

हतार-हतार अमरलाई फोन गरेँ। सम्पर्क हुन सकेन। यता सपनालाई फोन गरेँ, स्वीच अफ थियो। शरीरभरी काँडा उम्रियो। बहिनी पुजालाई फोन गरेँ। भाउजू, आज अप्रेसन रुममा हुनुहुन्छ। त्यही भएर स्वीचअफ गरेको होलान् भनिन्।

घटना घटेको तर अमरलाई केही नभएको र सपनालाई एक्लै नछोड्न भनेँ। कसैले मलाई चिच्चायर भन्यो, ‘तिमी घटनास्थलमा जान मेडिकल टोली लिएर तयार हुनु।’

मनमनै भगवान् पशुपतिनाथसँग पुकार गर्दै बसिरहेँ। ‘अमरलाई केही नहोस्।’

यत्रतत्र छरिएका लासहरु। डढेका घरहरु… स्थानीयहरुको रुवाबासी। मानौँ म सौम्य कर्णालीमा होइन, इराक, अफ्गानिस्तानमा छु…

छाउनीको ३ नम्बरको पोस्ट, अग्लो कदको एउटा केटा ढलिरहेको थियो। मन अचानक चिसो भयो। नजिक जान सकिनँ। सँगै रहेको साथीलाई हेर्न भनेँ।

‘सर क्याप्टेन साब अमर! विरगति!’

म भुइँमा थुचुक्क बसेँ। अन्धाकार भयो संसार। एकछिनमा एक महिलाको चिच्याहटले मेरो होस् आयो। आँखा खोलेर हेरेँ, एक स्थानीय महिला दुधे बालक समातेर मृत पतिको छातीमाथि टाँसिएर रुँदै थिइन्।

जब एमआई १७ हेलीकप्टरले शव संकलन गरेर काठमाडौँको लागि उचाई लिँदै थियो। लाग्छ यी कर्णालीका पहाडहरु, त्यो कालो रातको पीडामा डुबेको छ। कर्णालीको पहाडहरुलाई सोध्न मन लाग्यो अमरको सपनालाई के उत्तर दिउँ?

सैनिक सम्मान सहित देवीघाट त्रिशुलीमा अमरको शव् चितामा राखियो। जंगबहादुरले छोरालाई दागबत्ती दिए। नजिकै त्रिशुली नदी पीडाले सुसायर बगिरहेकी छिन्। यता अमरको सपना हस्पिटलमा अचेत छिन्।

दिनहरु, वर्षहरु बित्दै गए। जंगबहादुरले भन्थे, ‘सपना नै मेरो छोरा अमर हो।’

बेला-बेला सपनाले विधुवा हुनुको सामाजिक हेपाई र पीडा सुनाई रहन्थिन्। भोलि फाल्गुन २५ गते, बिहानै त्रिशुली जानु छ। जंगबहादुरले बहिनीको बिहे भनेका छन्। मनमनै सोचेँ, पूजाले किन हतारमा बिहे गरि होलान्। फेरि सोचेँ, मलाई पो ढिलो निम्ता दिएको हो कि?

भारि मन लिएर त्रिशुली गएँ। मनभरी अमरको याद आयो। अमर बितेको पनि झण्डै दश वर्ष भईसकेछ। वास्तवमा म धेरै गलिसकेको थिएँ। फेरि आफैले सम्झाएँ, बहिनिको बिदाईमा मैले दाजुको भूमिका निर्वाह गर्नै पर्छ। ‘तिमी पनि अमर जस्तै छोरा हो। आफ्नो कर्तव्य कसरी भुल्न सक्छौँ?

घर बाहिर पुगेँ । शुभ-विवाह लेखेको रातो तुल झुण्डीएको थियो। पण्डितले कन्यादान दिने बेला भो भन्दै थिए। हतार-हतार जन्तीहरुको भीडबाट जग्गे तिर छिरेँ।

दुलहीले रातो घुम्टो ओढेको र निहुँरिएकोले अलि राम्रोसँग देखिनँ। जंगबहादुर बुढा र आमा, छोरीको कन्यादान दिँदै थिए। म झसंग भएँ। बेहुली त सपना पो थिइन्। बेहुला तिनै थिए, अमृत।

मैले एकछिन केही सोच्न सकिनँ। अनयासै आँखा रसाए। जग्गेबाट दायाँ लागेर उभिएर बसेँ। कसैले मेरो हात च्याप्प समात्यो। फरक्क फर्केँ। जंगबहादुर रहेछन्।

अबरुद्ध गलाले भन्दै थिए ‘सपना मेरी छोरी हुन्। समाजले विधुवा बारे के भन्छ? अब मलाई मतलब भएन। छोरीको कन्यादान गरेँ। तिमीले यो कुरा बुझिराख्नु।’

प्रकाशित मिति: आईतबार, साउन १८, २०७७, १२:३५:००

https://www.setopati.com/literature/212773

 

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>