काठमाडौं, वैशाख १४ ।
विश्वलाई नै स्तब्ध बनाउने श्रीलंकाको आतंकवादी हमलाबाट नेपालले पनि पाठ सिक्नु पर्नेमा सुरक्षा मामिलाका जानकारहरुले जोड दिएका छन् ।
आतंकवादी समूहले कुनै पनि बेला नेपालमा निशाना बनाउन सक्ने खतरा रहेकाले नेपाल चनाखो बन्नुपर्ने उनीहरुको भनाइ छ ।
श्रीलंकामा भएको विस्फोटको जिम्मा इस्लामिक स्टेट ‘आईएस’ले लिए पनि त्यस सम्बन्धमा श्रीलंकाले आफ्नो आधिकारिक धारणा स्पष्ट पारिसकेको छैन । आईएसको श्रीलंकाका जनता र सरकारसँग प्रत्यक्ष कुनै दुश्मनी छैन । उसको निशाना पश्चिमा मुलुक र क्रिस्चियन धर्मावलम्बीहरु छन् । फेरि पनि विस्फोटको चपेटामा श्रीलंका पर्यो ।
आईएससँग लडिरहेका अमेरिका, ब्रिटेन र रुसजस्ता देशहरूको कूटनीतिक नियोग नेपालमा पनि छन् । नेपालमा रहेको अमेरिकी दूतावास एसियाकै ठूलो मानिन्छ । त्यसैले भोलिका दिनमा चर्चा बटुल्नकै लागि पनि विभिन्न आतंकवादी समूहले आक्रमणका लागि नेपाललाई रोज्न सक्ने खतरा औंल्याउछन् सुरक्षाविद् नारायण अधिकारी ।
अर्कोतर्फ लामो समयदेखि नेपालको पश्चिमा मुुलुकसँग सहकार्य हुनु र उनीहरुको सुरक्षा फौजमा नेपालीहरु संलग्न भइ विभिन्न आतंकवादविरुद्धको कारबाहीमा भाग लिएकाले पनि सजग हुनुपर्ने अधिकारी बताउँछन् ।
विस्फोटबारे श्रीलंकाको खुफिया एजेन्सीलाई पहिल्यै नै जानकारी भए पनि सूचनाको सही विश्लेषण गर्न नसक्दा क्षति बेहोर्न पर्यो । नेपालको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागको कार्यशैली र दक्षताबारे पनि बारम्बार प्रश्नहरु उठ्ने गरेका छन् । भोलिका दिनमा अप्रिय घटना हुन नदिन सुरक्षा निकायका चारै अंगबीच सूचना आदान प्रदान र सूचना संकलनको दक्षता अभिबृद्धि गर्नु पर्ने देखिन्छ ।
आतंकवादी हमलाको निशाना बनिरहेका देशको दूताबासमा नेपालले सुरक्षा सतर्कता बढाउनु पर्ने देखिन्छ । त्यसैगरी संदिग्ध व्यक्तिहरुमाथिको निगरानी, आतंकवादविरुद्ध लडिरहेका देशका जासुसी संस्थासँग सूचना आदानप्रदान, भारत, चीन, युरोपेली मुलुक र अमेरिकाका राजदूतहरुले आफुखुसी गर्ने भ्रमणलाई पनि सरकारले गम्भीरतापूर्व लिनुपर्ने विज्ञहरुको सुझाव छ । श्रीलंकाको घटनालाई पाठको रुपमा लिएर नेपालले आफ्नो राष्ट्रिय सुरक्षा नीतिमा पुनःविचारका लागि ढिलाई गर्न हुँदैन ।