बालाकोट बमबारीपछि नेपालले के गर्ने?

पाकिस्तानले शुक्रबार साँझ फिर्ता गरेपछि भारतीय वायुसेनाका विङ्स कमान्डर अभिनन्दन

पाकिस्तानले शुक्रबार साँझ फिर्ता गरेपछि भारतीय वायुसेनाका विङ्स कमान्डर अभिनन्दन
पीटीआई

‘जैसे ए मोहम्मद त्यही आतंककारी संगठन हो, जसको सम्बन्ध १९ बर्षअघि काठमाडौंबाट भएको विमान अपहरणसँग जोडिएको छ। नेपालले यतिबेला आफ्नो भूमि छिमेकी भारतविरुद्ध प्रयोग नहोस् भनेर बढी सतर्क हुनु पर्ने अवस्था छ।’

 

दक्षिण एसियाका दुई शक्तिशाली, आणविक अस्त्र बोकेका देश भारत र पाकिस्तानबीच बढ्दै गएको तनावले विश्वलाई एकाएक युद्धको त्रासमा राखेको छ। सीमापार आतंकवादले भारत र पाकिस्तानलाई सताएको धेरै भयो। पुलवामा आक्रमण पनि ‘ट्रान्स वोर्डर टेरोजिम’ अर्थात सीमापार आतंकवाद नै हो।

बिहिबार संसदमा प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विङ्स कमान्डर अभिनन्दन वर्तमानलाई रिहा गर्ने सन्देश दिएसँगै भारत र पाकिस्तानबीच बढेको सम्भावित युद्ध केहि हदसम्म मत्थर भयो। पाकिस्तानले शुक्रबार साँझ अभिनन्दनलाई भारतसमक्ष हस्तान्तरण गरिसकेको छ।

यद्यपि अभिनन्दनको हस्तान्तरणले भारत र पाकिस्तानलाई पूर्ण रुपमा शान्त बनाइहाल्छ भनेर विश्वस्त हुन सकिँदैन। तर पाकिस्ताका प्रधानमन्त्रीले जुन राजनीतिक परिपक्वतापूर्ण व्यवहार देखाए, यसबाट तत्काल भारत र पाकिस्तानबीच युद्ध भइहाल्ने स्थिति छैन भन्ने प्रष्ट पारेको छ। अहिले भारत र पाकिस्तान दुवै राष्ट्रले युद्ध चाहिरहेका छैनन्।

विङ्स कमान्डर अभिनन्दनलाई २६ फेब्रुअरीमा ‘लाईन अफ कन्ट्रोल’ पार गरेर पाकिस्तानी क्षेत्रमा बम बर्षा गर्न उडिरहेका बेला पाकिस्तानी सेनाले लडाकु विमान खसालेपछि नियन्त्रणमा लिएको थियो। भारतीय लडाकु विमान पाकिस्तानी सेनाको निशानामा परेपछि प्यारासुट जम्प गरेर अभिनन्दन बाँच्न सफल भएपनि उनी पाकिस्तानी क्षेत्रबाट भने भाग्न सकेनन्। अन्ततः उनी पाकिस्तानी सेनाको कब्जामा युद्धबन्दी बन्न पुगेका थिए।

 

भारत–पाकिस्तान अटारी सिमामा अभिनन्दनलाई स्वागत गर्न पुगेका युवती (बीबीसी हिन्दी)

भारत–पाकिस्तान अटारी सिमामा अभिनन्दनलाई स्वागत गर्न पुगेका युवती (बीबीसी हिन्दी)

जब १९ बर्षका युवाले गराए पुलवामा बिस्फोट
विश्वभर प्रेमका पारखीहरु प्रेममा डुबिरहेको दिन १४ फेब्रुअरीमा भारतीय केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का जवानहरु भने भारत नियन्त्रित जम्मुबाट श्रीनगरतर्फ नेशनल हाईवे हुँदै गइरहेका थिए। श्रीनगरबाट झण्डै २० किलोमिटर पर पुलवामा भन्ने ठाउँमा अचानक विस्फोटक पदार्थले भरिएको भ्यान भारतीय सुरक्षा बल चढेको बसमा ठोक्काएर आतंकारीहरूले आत्मघाती हमला गरे। तत्कालै ४० भारतीय केन्द्रीय रिजर्भ प्रहरी बलका जवानको जीवनलिला समाप्त भयो।

नेशनल हाईवे क्षणभरमै रणभूमिमा परिणत भयो। विस्फोट यति शक्तिशाली थियो कि वरीपरि पार्किङमा रहेका सवारी साधनहरु पनि टुक्रा–टुक्रा भए। घटनास्थलमा परेका भारतीय सुरक्षा बलका जवानहरुको शव एकै छिनमा धुवाँमा परिणत भयो। आक्रमणको जिम्मेवारी पाकिस्तानमा रहेर सक्रिय रहेको आतंकवादी संगठन जैस ए मोहम्मदले लियो। आत्मघाती हमलाकारी १९ वर्षका अदील अहमद थिए। पुलवामा आक्रमणका मुख्य योजनाकार कामरन घाजी रशिद थिए, पछि उनी भारतीय सुरक्षाकर्मीको इन्काउन्टरमा मारिए।

विमान अपहरणकारी जैसे ए मोहम्मद
जैसे ए मोहम्मद कश्मिरलाई भारतबाट छुट्टयाएर अलग बनाउने अभियानमा लागेको आतंकवादी संगठन हो। यो संगठनको आश्रयस्थल पाकिस्तानी भूमि रहेको आरोप पाकिस्तानमाथि लाग्दै आएको छ। त्यतिमात्र होइन, पाकिस्तानको जासुसी संस्थाको योजनामा नै जैसे ए मोहम्मद संगठनको जन्म भएको मानिन्छ। जैसे ए मोहम्मद आतंककारी संगठनको स्थापना मसुद अजरले गरेका थिए।

पुलवामा आक्रमणपछि अमेरिका, बेलायत र फ्रान्सले संयुक्त राष्ट्र संघलाई जैसे ए मोहम्मद आतंककारी संगठन र मसुद अजरलाई संयुक्त राष्ट्र संघको आतंककारी संगठन अन्तर्गत राखेर मसुद अजरलाई विश्वभर आवतजावतमा हिंड्न नपाउने गरि रोक लगाउन अनुरोध गरेको छ। विगतमा भारतीय सुरक्षा संयन्त्रले मसुद अजरमाथि संयुक्त राष्ट्रसंघबाट रोक लगाउन खोज्दा चीन बाधक बनेको आरोप लगाउने गरेको थियो। जैसे ए मोहम्मद त्यही आतंककारी संगठन हो, जसको सम्बन्ध २०५६ पुस ९ गते नेपालबाट इन्डियन एयरलाइन्सको विमान अपहरणसँग जोडिएको थियो। सन् २००८ को मुम्बई हमला, सन् २०१६ को इन्डिएन एयर बेस पठानकोट हमला लगायत कयौं यस्ता घटनाहरु जैसे ए मोहम्मदले घटाइसकेको छ।

कश्मिर झण्डै ७० वर्षदेखि अशान्त छ, जसको कारण ५० हजार बढीले ज्यान गुमाइसकेका छन्। भारत र पाकिस्तानबीचको झगडाको प्रमुख कारण कश्मिर नै हो। भारत र पाकिस्तानले सन् १९४७, सन् १९६५ र सन् १९९९ गरि तीन पटक कश्मिरका लागि लडाइँ लडिसके। दुवै देशले आ–आफ्नो तरिकाले कश्मिरमाथि दावी गर्न छाडेका छैनन्।

कश्मिर मुद्दामा भारत र पाकिस्तानको चासो मात्र छैन– अमेरिका, बेलायत, चीन जस्ता देशहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका छन्। भारत आफ्नो नियन्त्रणमा रहेको कश्मिरको क्षेत्र कुनै पनि हालतमा स्वतन्त्र हुन दिने पक्षमा छैन भने पाकिस्तान चाहिँ त्यहाँ रहेका बहुसङ्ख्यक मुश्लिम नागरिकलाई भारतविरुद्ध लडेर स्वतन्त्रा लिन सहयोग गरिरहेको छ।

चुनावी मसलाका लागि १००० किलोको बम
अप्रिल र मे महिनामा हुने लोकसभा चुनावको तयारीले तातिरहेको भारत झण्डै झण्डै पाकिस्तानसँग युद्धका लागि आमने सामने उभिन पुग्यो, कारण थियो पुलवामा आक्रमण। पुलवामा आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि यति ठूलो नैतिक दबाब पर्यो कि तत्काल सैन्य प्रत्याक्रमण नगर्दा विपक्षीहरुले चुनावमा भरपुर फाइदा उठाउन सक्ने उनले प्रष्ट देखे। कारण थियो, मोदीले बोक्दै आएको हिन्दुवादी र चर्को राष्ट्रवादी राजनीतिक धार।

सामरिक र कुटनीतिक क्षेत्रमा आफुलाई अब्बल बनाउँदै गइरहेको भारतको १४ औं प्रधानमन्त्रीका रुपमा मे २०१४ मा नरेन्द्र मोदी उदाएका थिए। भारतीय जनता पार्टीले अनुमान गरे भन्दा धेरै मत लिएर मोदीले प्रधानमन्त्रीको रुपमा नेतृत्व सम्हालेका थिए।

नेहरु र गान्धी परिवारको राजनीतिक सिन्डिकेट तोड्दै वंशजको सत्ता निरन्तरतालाई पाखा लगाएर प्रधानमन्त्री बन्न सफल भएका थिए मोदी। लाडकृष्ण आडवाणी, राजनाथ सिंह जस्ता भारतीय राजनीतिका शक्तिशाली व्यक्तित्वलाई छायाँमा पारेर प्रधानममन्त्रीका रुपमा भाजपाले मोदीलाई अगाडि बढाएको थियो। चुनावमा विजयी भएपछि भाजपाको त्यो निर्णय सहि सावित भयो।

गुजरातको मुख्यमन्त्री हुँदै भारतीय राष्ट्रिय राजनीतिमा उदाएका मोदी विवादरहित भने थिएनन्। उनीमाथि सन् २००२ मा गुजरातमा हिन्दु र मुस्लिमबीच भड्किएको साम्प्रदायिक दंगामा मुछिएको आरोप थियो। भारतीय जनता पार्टीको मुख्य एजेन्डा हिन्दुत्व नै थियो, मोदीले त्यहि हिन्दुत्वको नाराले प्रधानमन्त्री कुर्सी तय गरेका थिए।

दोस्रो कार्यकाल नेतृत्व लिने गरि चुनाव सामना गर्न मोदीलाई त्यति सजिलो छैन। मोदीले जसरी हिन्दुवादी र चर्को राष्ट्रवादी धार बोकेर पहिलो कार्यकालमा सफलता हात पारे त्यो अवस्था अहिले छैन। मोदी अहिले निरन्तर गान्धी परिवारको राजनीतिक हमलामा परिरहेका छन्। प्रधानमन्त्रीको सपथ लिने बेलामा मोदीले आफ्नो विदेश नीतिमा छिमेकीलाई प्राथमिकतामा राखेको देखाउँदे जसरी सार्क राष्ट्र प्रमुखहरुलाई बोलाएर सौर्हदता देखाए, त्यो सौहार्दता लामो समय टिकाई राख्न सकेनन्। विनासकारी भूकम्पले क्षतविक्षत भएको नेपालले संविधान जारी गर्दा असन्तुष्टि जनाएर मोदीले नेपालमाथि नाकाबन्दी लगाए। उनले माल्दिभस, श्रीलंकासँग पनि सम्बन्ध सुमधुर राख्न सकेनन्।

दोक्लाम विवादमा चीनसँग आमने सामने पुगेको भारतीय सेना धेरै दिन त्यहाँ टिकिरन सकेन। आफै पछाडि हट्नु पर्ने अवस्था आयो। भुटानले पनि दोक्लाममा भारतीय सेनाको उपस्थितिलाई उचित मानेन। मोदीका विदेश भ्रमण एक पछि अर्को उपलब्धीविहिन हुँदै गइरहका थिए। सन् २०१७ मा न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी) मा प्रवेश गर्ने भारतको प्रयास चीनको असहयोगका कारण सफल भएन।

पछिल्लो समय भारतमा नागरिक तहबाट नै मोदीको कार्यशैलीमाथि प्रश्न उठिरहेका बेला पुलवामा आक्रमणपछि मोदीले फेरि चर्को हिन्दुवादी र चर्को राष्ट्रवादी धारमा भाषण गर्ने ठाउँ पाए। सैनिक समवेदनासँगै चुनावी माहोलमा पनि घुमाउरो पारामा मोदी लागेको प्रष्ट देखिन्छ।

जसरी उरि हमलापछि भारतीय सेनाले मोदीको इसारामा पाकिस्तानमाथि ‘सर्जिकल स्ट्राइक’ गरे त्यसबाट मोदीलाई पाकिस्तानविरुद्ध बलियोसँग उभिने राष्ट्रवादी नेताको छवि बनाउन सजिलो भएको थियो। पुलवामा आक्रमणपछि भारतीय सेनाले लडाकु विमानबाट ‘लाईन अफ कन्ट्रोल’ पार गरि सल्लाका रुखहरुमाथि बमबारी नगरेको भए भारतभित्र मोदीको चर्को आलोचना भइसक्थ्यो। त्यसकारण मोदीले लडाकु विमान पठाएर पाकिस्तानमाथि १००० किलोको बम खसाउन लगाए र, संभवतः उनी अझै पाकिस्तानमाथि कुनै अर्को चक्मा दिने सोचमा बसिरहेको छन्।

बारम्बार ‘सर्जिकल स्ट्राइक’
४ जुन २०१५ मा नागाल्यान्ड बेसमा विद्रोही समूहले भारतीय सैनिक सवार ट्रकलाई एम्बुसमा पारी १८ सैनिकको ज्यान लिए। ९ जुनमा भारतीय सेनाले इन्डो – म्यान्मार बोर्डरबाट झण्डै १५ किलोमिटरभित्र पसेर आतंककारीको क्याम्प ध्वस्त पार्यो। भारतले यसलाई ‘सर्जिकल स्ट्राइक’ भन्यो। भारतीय सेनाको यो कारवाही केवल नागा विद्रोहीका लागि मात्र नभई भविष्यमा पाकिस्तान बेसमा आतंककारी घुसपैठ भएर भारतमा आतंक मच्चाए भारतीय सेना पाकिस्तानभित्र पसेर सैन्य हमला गर्न सक्छ भन्ने सन्देश थियो। यसबाट प्रशंसा बटुल्न सफल भए मोदी।

सन् २०१६ को उरि हमलापछि पनि भारतले पाकिस्तानी भूमिभित्र गएर आतंकारीको क्याम्प उडाएको दावी गर्यो। र, त्यसलाई पनि ‘सर्जिकल स्ट्राईक’ नै भन्यो। भारत एक पछि अर्को सिमापार सैन्य कारवाहीलाई ‘सर्जिकल स्ट्राइक’ को नाम दिँदै अगाडि बढिरहेको छ। भारतीय सैन्य कारवाही, सिमापार सैन्य कारवाही थियो कि वास्तविक ‘सर्जिकल स्ट्राइक’ भन्ने नखुल्दै अमेरिकाले ‘एसिया प्यासिफिक क्षेत्रमा भारत नै शक्ति राष्ट्र हो’ भन्न थालिसकेको देखिन्छ। यसका पछाडि अमेरिकन इन्डो प्यासिफिक रणनिति प्रष्ट देखिन्छ।

वास्तवमा ‘सर्जिकल स्ट्राइक’ गर्न सक्षम देशहरु भनेका इजरायल, अमेरिका, रुस र बेलायत हुन्। यद्यपि विश्वशक्तिमा उदीयमान भारतको सैन्य क्षमता बढिरहको कुरालाई नकार्न सकिँदैन।

अमेरिकासँग बढ्दै गएको भारतको रणनीतिक साझेदारीले विश्व कुटनीतिमा ठूलो परिवर्तन ल्याइरहेको छ अहिले। सन् २००६ को मार्च ३ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज बुसले भारतको भ्रमण गर्दा भारतलाई विश्वशक्तिको संज्ञा दिएका थिए। त्यसपछि भारत र अमेरिकाले सन् २००८ मा आणविक सम्झौता गरे।

आजको दिनसम्म आइपुग्दा भारत र अमेरिकाबीचको सामरिक र रणनीतिक साझेदारी भनेको सन् २०१२ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पेन्टागनबाट जारी गरेको एसिया केन्द्रित रणनीति नै हो।

नेपालले के गर्ने
नेपाल र भारतबीच खुल्ला सिमा छ। यसका सकारात्मक र नकारात्मक दुवै पाटाहरु छन्। अहिले भारत र पाकिस्तानबीचको तनावमा नेपालको भूमि छिमेकी देश भारत विरुद्ध प्रयोग हुन नसकोस् भनेर नेपालले उच्च सुरक्षा सतर्कता अपनाउनु पर्छ।

पाकिस्तानमा सक्रिय रहेका आतकंवादी संगठनका सदस्यहरुलाई नेपाली भूमिमा घुस्न नदिन नेपालले विमानस्थल र बोर्डर क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति अझै बलियो बनाउनु पर्ने आवश्यकता छ। सिमा सुरक्षा मात्र नभई आतंकवाद नियन्त्रण गर्ने म्यान्डेट पनि सशस्त्र प्रहरी बलले पाएको छ। दक्षिण एसियामा अहिले सामरिक भूराजनीतिले गर्दा कुन आतंकवादी संगठन कुन देशबाट संचालित छन् भनेर पत्ता लगाउन गाह्रो परिरहेको छ। यस्तो बेलामा नेपाल सरकारले सशस्त्र प्रहरी बलभित्र काउन्टर टेरोरिजम ईकाइ गठन गरेर संभावित आतंकवादी क्रियाकलाप रोक्न तयारी हालतमा राख्नु पर्छ।

हतियारधारी सैन्य भन्दा जहिले पनि जासुसहरु एक कदम अगाडि हुन्छन्। देशमा जासुसी संस्था बलियो भए मात्र राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्न खोज्ने तत्वहरु छिट्टै पत्ता लगाएर कानुनी दायरामा ल्याउन सकिन्छ। त्यतिमात्र होइन, नेपालको भूमि कसैले दुरुपयोग गर्न खोजेका रहेछन् भने पनि राज्यले बेलैमा त्यस्ता सूचना प्राप्त गर्न सक्छ।

नेपालमा जासुसीका लागि भनेर बनेको संस्था भनेको राष्ट्रिय अनुसन्धान विभाग नै हो। यद्यपि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका पनि छुट्टा–छुट्टै जासुसी संयन्त्र छन्। यी सबै राष्ट्रिय हित कै लागि आ–आफ्नो म्यान्डेट अनुसार खटिने गर्दछन्। लामो समयदेखि राज्यले बेवास्ता गर्दा जासुसी संस्थाहरू कमजोर बन्न पुगेका छन्।

त्यसैले अब सरकारले राष्ट्रिय अनुसन्धान विाभागलाई आधुनिकीकरण गर्न ढिलो गर्नु हुँदैन। विभागभित्र प्रति जासुसी ईकाइ पनि स्थापना गरिनु पर्छ। अहिले हामीसँग जासुसी गर्ने जनशक्ति एकदम न्युन छ। यो संख्या वृद्धि गरि विमानस्थल र सीमा क्षेत्रमा बाक्लो उपस्थिति गराउन सके आतंकवादी घुसपैठ रोक्न सकिन्छ।

प्रकाशित १८ फागुन २०७५, शनिबार | 2019-03-02 11:05:05

यो नेपालखबर भएको लेख हो 

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>