के हो आतंकवाद ? सन्दर्भः ९, ११ हमला

नारायण अधिकारी

नारायण अधिकारी

९, ११ अर्थात सेप्टेम्बर ११ इतिहासमा एउटा कालो दिनका रुपमा रहिरहनेछ । १५ वर्ष अगाडि अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा आतंकवादीहरुले बिहान करिब ८ बजेर ४६ मिनेट जांदा जेट एयरलाइन्सको विमान अपहरण गरि ति गगनचुम्बी भवनमा ठोक्याइदिए । उक्त आतंकवादी हमलामा करिब तीन हजार जनाको ज्यान गएको थियो । आक्रमणको मुख्य योजनाकार ओसा बीन लादेन थिए । ९, ११ आतंकवादी आक्रमणपछि अमेरिकाले विश्व आतंकवाद विरुद्ध लडाईं जारी राखेको छ । बीन लादेन पछि सन् २०११ मा पाकिस्तानको अटोमावादमा अमेरिकी सेनाको कारबाहीमा मारिए । खासगरी अमेरिकामा ९, ११ को आक्रमणपछि आतंकवादी संगठनहरुले विश्वभर आफ्नो प्रभाव बढाउन सक्रिय भएको देखिन्छ ।

के हो आतंकवाद ?

आतंकवाद (टेरोरिजम) शब्द खासगरी फ्रेन्च शब्द टेरररोज्मीबाट आएको हो । शुरुवाती समयमा टेरोरिजमलाई स्टेट टेरोरिजमबाट मात्र हेर्ने गरिन्थ्यो । आजको दिनमा यो स्टेट टेरोरिजम मा मात्र सिमीत छैन । राईट, लेफ्ट विंग्स् टेरोरिजम देखि लिएर कुनै अतिवादी धार्मिक समूह होस् या कुनै मुख्य राजनीतिक मुद्दाबाट अलग्गिएर पृथकतावादि गतिविधि संचालन होस् यी सबै आतंकवाद नै हो ।
कुनै एक लाइनमा आतंकवादको परिभाषा दिन कठिन छ । 
आतंकवादलाई क्रिमिनोलोजीको लेन्सबाट मात्र हेर्ने हो भने यसको मोटिभेसन फरक पर्न जान्छ । पोलिटिकल साइन्सबाट हेर्ने हो भने चरमपन्थी उग्रवादलाई परिभाषित गर्न सक्दैन । त्यस्तै समाजशास्त्रबाट हेर्ने हो भने आतंकवादको मनोविज्ञानको कुरा फरक पर्न सक्छ । प्रष्ट छ कुनै एक एकेडेमिक थिओरी वा मेथोडोलोजीले आतंकवाद परिभाषाको सिमाना कोर्न सकेको छैन् । साधारण अर्थमा भन्नु पर्दा यो कुनै व्यक्ति वा संगठनले अमानवीय कार्य र हिंसा हत्या गरि समाज वा देशलाई आतंकित पार्नु हो । ‘डर, जबरजस्ती वा त्रास मार्फत राजनीतिक आर्थिक, धार्मिक वा सामाजिक लक्ष्य प्राप्त गर्न अवैध शक्ति, हिंसा, धम्की प्रयोग गर्ने व्यक्ति वा समूह नै आतंकवादी वा आतंकवादी संगठन 
हुन् ।’ आतंकवाद बुझन क्रिमिनोलोजी, पोलिटिकल साइन्स र समाजशास्त्र तिनै कुराको मिश्रण हुनु पर्ने देखिन्छ ।

दक्षिण एसियामा आतंकवाद
विश्व आतंकवादबाट दक्षिण एसिया पनि अछुतो छैन् । दक्षिण एसियामा आतंकवादी संगठन आइएस, तालिवान, अल कायदा, लस्करे ए तोइवा, जैस इ मोहमद, पाकिस्तानी मुजाहिद्दिन, इन्डियन मुजाहिद्दिन लगायत अन्य कयौं संगठनहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सक्रिय छन् । दक्षिण एसियामा सबै भन्दा बढि अफगानिस्तान, पाकिस्तान र त्यसपछि भारत आतंकवादी आक्रमण बाट ग्रसित छन् । त्यसमध्ये आइएस र तालिवानले धेरै आतंकित पारेको छ ।

गएको २ हप्ता पहिले अमेरिकी विदेशमन्त्री जोन केरी बंगलादेश हुंदै भारत पुगेका थिय । यो कुनै संयोग मात्र थियो कि ? अथवा कुनै घट्नाक्रमले सिर्जित भ्रमण हो विस्तारै थाहा होला । भारतसंग अमेरिकाको आतंकवाद विरुद्ध सहकार्य, रक्षा सहकार्य र अन्य क्षेत्रीय मामिलामा गठबन्धन बढ्दै गइरहेको छ । त्यसका लागि अमेरिकी हाई प्रोफाइलको भारत भ्रमण नियमित प्रक्रिया नै हुन् सक्छ । तर, बंगलादेश भ्रमण चाहिं पछिल्लो आतंकवाद विरुद्धको कारवाही परिणामको संकेत हुने आंकलन गर्न सकिन्छ ।
गएको २७ अगस्ट बंगलादेशमा तामिम चौधरी प्रहरीको प्रतिआतंकवादी कारबाहीमा मारिय । उनी गएको १ जुलाईमा बंगलादेशको राजधानी ढाकास्थित होली आर्टिसन बेकरीमा भएको आतंकवादी हमलाको मुख्य योजनाकार थिए,जहां २० जनाको हत्या भएको थियो ।
उता अर्को छिमेकी देश पाकिस्तानको प्रहरीले आतंकवादीका ४ लडाकुलाई लाहोरको मनवर एरियामा सुरक्षा कारबाही गर्दा मारे । ति मारिएका लडाकुहरु सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि आतंकवादी आक्रमण गर्ने मध्येका थिए । त्यो बेला नेपाल भ्रमणमा रहेका श्रीलंकाली राष्ट्रपति आफ्नो भ्रमण दिन छोट्याएर फर्किएका थिए । एसिया प्यासिफिक क्षेत्रमा भारतले नेतृत्व गर्नु पर्छ भन्ने जोन केरीको भनाइ कम अर्थपूर्ण छैन् । अमेरिकी विदेशमन्त्री जोन केरीले भारत भ्रमणको क्रममा माथिको भनाई बोलेका हुन् । जोन केरीको एसिया प्यासिफिक क्षेत्रमा भारतले नेतृत्व गर्नु पर्छ भन्ने बोलीमा विश्व आतंकवाद विरुद्धको संयुक्त लडाई मात्र नभई क्षेत्रीय राजनीतिमा पनि गहन अर्थ देखिन्छ ।

अमेरिकाको भारतसंग बढ्दो रक्षा गठबन्धन, आतंकवाद विरुद्धको संयुक्त सहकार्य र चीनको बढ्दो प्रभाव रोक्न दक्षिण एसियामा उपस्थिति बलियो हुंदै गएको प्रष्ट छ । त्यसैले दक्षिण एसियामा क्रियाशिल आतंकवादी संगठनमाथि उसले निशाना राखेर आक्रामक हुने गठबन्धन निर्माण गर्दै छ । त्यसमा पनि भारतलाई त आतंकवादीहरुले चरम निशानामा पारिरहेका छन् ।
महिना दिन यताको घट्ना विवरण मात्र हेर्ने हो भने द 
रिलिजन अफ पिस डट कमको रिपोर्टलाई आधार मान्दा ३२ देशमा १७६ पटक इस्लामिक आक्रमण भएको देखिन्छ जहां १४९५ जनाको मृत्यु भयो भने हजारौं घाइते हुन पुगेका छन् । सबै भन्दा ठूलो त्रासमा त युरोप पुगेको छ ।

आर्थिक, सामाजिक र सुरक्षाको हिसाबले अत्यन्त उच्च जीवन भएको युरोपियन जीवन शैलीमा गएको केहि वर्ष देखि आतंकित वातावरण हुन पुगेको छ । हरेक दिन जसो घट्ना घटेका छन् । दुई हप्ता पहिले जर्मनीको एक पत्रिका वेल्ट एम सनट्यागमा प्रकाशित न्यूज सोर्सलाई मान्ने हो भने करिब ६० जना जति जिहादी जर्मन सेनामा हुनसक्ने आंकलन छ । उता केहि युरोपियन पत्रिकाहरुले जिहादीहरु जर्मन सेनामा भर्ती हुन् सक्ने आंकलन गरेका समाचार प्रकाशित गरेका छन् । त्यसैले जर्मनको काउन्टर इन्टेलिजेन्स एजेन्सीले सेनामा भर्ती हुन आउनेहरुको व्यतिगत पृष्ठभूमिमाथि कडा निगरानी गर्दै छन् । सेनामा प्रवेश भएर बढुवा हुन लागेकाहरुको पृष्ठभूमिमाथि पनि कडा निगरानी गरिंदै छ ।

नेपालमा के छ ?
आतंकवादीहरुले कोशी ब्यारेजमा आक्रमण गर्ने योजना छ भन्ने भारतीय पत्रले गएको महिना त्रास बढाउने काम पनि भयो । केहि दिन भित्रै नेपाल सरकारको गृह मन्त्रालयले भारतीय दावीको आधिकारिक रुपमा खण्डन गर्दै कोशी ब्यारेजमा उच्च सुरक्षा सतर्कता रहेको विज्ञप्ति प्रकाशित गर्यो । हल्लाको पत्रमा जोडिएका संगठन थिए आतंकवादी संगठन आइएस ।
कुनै पनि देशमा आतंकवादी घट्ना घट्न मुख्य त तिन कुराका आधारहरु हुन्छन् । उग्रवादी आइडोलोजी बोकेका व्यक्ति र संगठन, आतंकवादी संगठनको एकाई र आतंकवादी सञ्चालन । नेपालमा हालसम्म यी तिन कुराले स्थान बनाएको पाउन सकिएको छैन् । त्यस्तै आतंकवाद को लागी हतियार, विस्फोटक पदार्थ, संगठानिक संरचना निर्णमान, आश्रय स्थल र बलीयो आर्थिक स्रोत आधारहरु आवश्यक पर्न जान्छ, जुन कुराको नेपालमा अहिले सम्म संमभावना देखिंदैन ।

यद्यपि नेपालमा नै लक्षित गरेर कुनै आतंकवादी संगठन सक्रिय नरहे पनि नेपाललाई ट्रान्जिट पारेर तेस्रो देश खासगरी भारतलाई लक्षित गरि जाली मुद्राको कारोबार, विस्फोटक पदार्थको ओसारपसार, आतंकवादका लागि हुने आर्थिक क्रियाकलापहरु बेला बेलामा देखिएका छन् । विगत केहि वर्षमा पृथकतावादी सैन्य कमान्डर निरञ्जन होजाई, भारतको बम काण्डमा मुछिएका अब्दुल करिम टुन्डा र भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनका सह–संस्थापक यासिन भट्कल पक्राउ नेपाली भूमिबाट नेपाल प्रहरीको सक्रियतामा भएको कुरा भारतीय सञ्चारमाध्यमले उधृत गरेको थियो ।

नेपालमा आतंकवादको कुरा गर्दा २०४२ सालमा रामराजा प्रसाद सिंहको समूहले काठमाडौंको विभिन्न स्थानमा बम विस्फोट गराएको पाइन्छ वि.सं २०५२ सालबाट माओवादीले गरेको सशस्त्र युद्धलाई आतंकवादको रुपमा तत्कालिन राज्यले परिभाषित गरि त्यही अनुसार नियम कानुन बनाई राज्यका सुरक्षा अंगहरु परिचालित भएको जग जाहेर छ । वि.सं २०५६, पौषमा इन्डियन एरलाइन्सको हवाई जहाज काठमाडौंबाट उडेपछि अपहरणमा परेको थियो । भारतीय जेलमा रहेका आतंकवादीहरुलाई छुटाउन उक्त विमान अपहरण गरेर अफगानिस्तान लगिएको थियो ।

कुनै अन्य मुलुकमा भने नेपालीहरु आतंकवादी आक्रमणमा परेका छन् । २०६१ साल भाद्र १५गते अर्थात आज भन्दा १२ वर्ष अगाडि
इराकमा १२ नेपालीको आतंकवादीबाट निर्मम तवरबाट हत्या भएको थियो जुन पीडामा काठ्माण्डौं भाद्र १६ गते जलेको थियो । त्यस्तै गएको असार ६ गते अफ्गानिस्तानमा आतंकवादि हमलामा परि १३ नेपाली ले ज्यान गुमाउनु पर्यो ।

खासगरी नेपालको सुरक्षा संगठनहरुमा आतंकवाद हेर्ने विभिन्न विंग्स्हरु छन् । नेपालको सबै सुरक्षा अंगहरु विश्वको घटना क्रमबाट टाढा छैनन् । उनीहरु अन्तर्राष्ट्रिय तालिमबाट प्रशिक्षित छन् । हाम्रो देशको सुरक्षा अंगहरुले आतंकवादलाई नजिकबाट नियालिरहेका छन् । नागरिक तहमा त्रसित हुनु पर्ने त्यति ठुलो अवस्था भने छैन । नेपालमा नेपाली सेनाको विशेष फौज भैरवनाथ गण छ । यो फौज इजरायली सेनाबाट प्रशिक्षित छ । यो फौज नेपालमा परिआएको बेला आतंकवाद विरुद्ध लड्ने नेपालको प्रमुख शक्ति नै हो । यो नेपाली सेनाको स्पेशल फोर्स पनि हो ।

माओवादी जनयुद्ध शुरु हुनु भन्दा अलि अगाडितिर विश्वको बदलिंदो परिवेशलाई ध्यानमा राखेर नेपाल प्रहरीले अन्तर्राष्ट्रिय आतंकवाद हेर्न प्रति आतंकवाद सेल गठन गरेको थियो जुन २०६८ सालबाट विशेष व्युरोको रुपमा रहेर काम गर्दै आइरहेको छ । यसको काम आतंकवाद नेपाली भूमिमा रोक्नु नै हो । निगरानी, सूत्रहरुको परिचालन र राष्ट्रिय सुरक्षाका अन्य अंगहरुसंग सहकार्य गर्दै आइरहेको विशेष व्युरोको सूचना अत्यन्त बलियो मानिन्छ ।
माओवादी जर्जर अवस्थामा रहेको बेला नेपाल प्रहरीबाट नियन्त्रण बाहिर जान थालेपछि २०५८ सालमा सशस्त्र प्रहरी बल गठन भयो । सशस्त्र प्रहरी बलको प्रमुख काम नै पृथकतावादी संगठन नियन्त्रण गर्नु, सिमा सुरक्षा गर्नु हो । सशस्त्रको जन्म नै तत्कालिन माओवादी युद्ध लाई रोक्नु थियो । त्यस्तै गुप्तचरीको लागि राष्ट्रिय अनुसन्धान विभाग पनि क्रियाशील छ । त्यतिमात्र होइन नेपाली सेनाको छुट्टै सैनिक गुप्तचर विभाग पनि छ । यी सबै राष्ट्रिय सुरक्षा अंगहरु एक आपसमा सूचना आदानप्रदान र सहकार्य गर्दै सम्भावित थ्रेट 
प्रिभेन्ट गर्न सक्ने क्षमताका छन् ।

कसरी चुनौती रोक्ने ?
नेपालले दक्षिण एसिया सार्कको अभिसन्धि अनुसार आतंकवाद विरुद्ध सहकार्य गर्दै आएको छ । अन्य पक्षमा भने आजको दिनसम्म नेपालले आतंकवाद विरुद्ध लड्न सहकार्य गर्ने गरि अरु कुनै पनि राष्ट्रसंग घोषित सम्झौता गरेको देखिंदैन् । तर पनि सुरक्षा सम्बन्धि विभिन्न गोष्ठीहरुमा आतंकवादविरुद्ध ऐक्यवद्धता भने जनाएको देखिन्छ ।

खासगरी नेपालको ठूलो भूभाग छिमेकी देश भारतसंग जोडिएको छ । भारतसंग हाम्रो खुल्ला सिमाना रहेको छ । भारत पहिले देखि नै आतंकवादी हमलाको निशानामा परिरहेको छ । यस्तो बेलामा हामी सजग रहनु स्वाभाविक कुरा नै हो तर भोलिको दिनमा देखिन सक्ने आतंकवादी चुनौती सामना गर्न संयन्त्र हरु प्रभावकारी र विकसित गर्दै लैजानु प्रमुख विषय हुन सक्छ । नेपाल भारत खुल्ला सिमाना व्यवस्थित गर्नु, सिमानामा जोइन्ट इन्टिलिजेन्स् इन्फरमेसन पोइन्टहरु स्थापना गर्नु, दश गजामा राजनैतिक सभा सम्मेलन, बन्द हड्ताल गर्न रोक लगाउने, हरेक महिना स्थानीय काउन्टर पार्टको बैठक राखी सहकार्य गर्नुपर्ने नितान्त आवश्यकता देखिन्छ ।
चीन संग पनि हाम्रो भूभाग जोडिएको छ । तिब्वत मुद्धा अहिले भू–राजनीति गर्ने हरुको लागी प्रमुख हुन सक्छ । पहिले पनि खप्पा हरुले नेपाली भूमि प्रयोग गरेर एक पटक विद्रोह गरिसकेको ले नेपाल ले उच्च सर्तकता अपनाउनु जरुरी छ । सन् १८०० तिर एन्टी सोभियत जीहाद जन्मेको थियो, जुन भू–राजनीति गर्ने हरुले जन्माएका थिय । एन्टी सोभित जीहादका लडाकुहरु पछि अल कायदा सम्म पुगेको देखिन्छ ।

नेपालको विमानस्थलबाट पहिले एक चोटी विमान अपहरण भइ सकेकाले कयौं देशहरु अझै हाम्रो विमानस्थलको सुरक्षा कमजोर छ भन्ने गर्दछन् जुन आरोपलाई बेला बेलामा विमानस्थलबाट हुने अवैध लागुपदार्थ ओसारपसार, तस्करी, विभिन्न अपराधीहरुको आवतजावत र पक्राउले बलियो बनाउंछ । विमानस्थलमा आधुनिक सुरक्षाका मेसिनहरु नहुनु, केहि प्रहरी र अध्यागमनका कर्मचारी तस्करहरुको आर्थिक प्रलोभनमा पर्नु, भीआइपी र भीभीआइपी पासको दुरुपयोग हुनु जस्ता कुराहरु मुख्य सुरक्षा कमजोरी हुन् ।

नेपालले आफ्नो भौगोलिक बनावटले गर्दा कयौं विकट ठाउं हरुमा अझै मोटर बाटो जोड्न सकेको छैन् । परिवर्तन भइरहने मौसम, यातायात जाने बाटोको अभावमा अझै पनि कुनै भव्य तव्य पर्दा उद्दारको लागि तुरुन्तै सुरक्षा फौज परिचालन गर्न सकिरहेको छैन् जसका लागि घन्टौं कुर्नु परेको छ । यस्तो बेलामा खासगरी नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल प्रहरी उंडेर र गुडेर पुग्ने यथेस्ट साधनहरुको व्यवस्था गर्नु जरुरी देखिन्छ ।

नेपालको राष्ट्रिय अनुसन्धान विभागले अहिलेसम्म आन्तरिक गुप्तचरी मात्र गर्दै आइरहेको छ जुन बदलिंदो विश्व परिवेशमा केहि पनि होइन् । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा बाह्य गुप्तचरी विंग्स् पनि गठन गर्नु अत्यावश्यक छ । कुनै पनि स¨ठन चल्न अर्थको आवश्यकता पर्न जान्छ । आतंकवादमा कुनै कालो धन प्रयोग हुन नदिन सम्पत्ति शुद्धीकरण विभागलाई अझै बलियो बनाउन जरुरी छ ।

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>