भारतसँग नेपालको सुरक्षा चासो

Narayan Adhikari

Narayan Adhikari

सन्दर्भ: प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री केपी ओली दिल्लीको रातो कार्पेटमा पाइला राख्ने तयारीमा रहँदा नेपाल-भारत सिमानामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को कुटपिटबाट एक नेपाली गम्भिर घाइते भएका छन्|  के प्रधामन्त्री सीमाको एसएसबी ज्यादतीविरुद्ध दिल्लीमा बोल्लान त् ?

झन्डै ५ महिनाजति लामो भारतीय नाकाबन्दीबारे बोल्दा प्रधानमन्त्री ओलीले नेपाली शीर झुक्न दिन्नँ भन्न कहिल्यै पछि परेनन्| नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने घोषणा पनि गरे। तर अब उनको दिल्ली भ्रमणमा के के होला त ? चासोको विषय छ।

खुल्ला सीमाना

नेपाल -भारत खुल्ला सीमानाका सकारात्मक र नकारात्मक दुवै पक्ष छन्| नेपालको कुल २६ जिल्लाले भारतसँग छोएको छ| त्यसमध्ये पनि २४ जिल्लाले भारत लाई मात्र छुन्छ| कालापानी, सुस्ता नेपालका भूमि लामो समयदेखि भारतले मिचेको छ| भारतले गरेको नाकाबन्दीसँगै  लिपुलेक विवाद ओझेल छ, जुन दुर्भाग्य पूर्ण हो | प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको बेला नेपालले यी मुद्धामा भारतसँग मुख खोल्नै पर्ने छ|

भारतसँगको सीमा विवाद धेरै पुरानो भइसक्यो| आखिर कहिलेसम्म हामीले हाम्रो भू –भाग एकएक इन्च गर्दै गुमाइरहने? हाम्रो भूमि जोगाउन कसले पहल गर्छ?

सीमानामा भारतीय सुरक्षाकर्मीबाट हुने दुर्व्यहार, कुटपिट र हतियारसहित प्रवेश हुने घटनाले आम नेपालीप्रति धेरै नै नकारात्मक असर पारेको छ। आखिर किन खुलमखुल्ला हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्छन् ? नेपालको सीमाना सुरक्षा संयन्त्र कस्तो छ?

२०६४ साल पुसदेखि नेपाल सरकारले सीमा सुरक्षाको जिम्मा सशत्र प्रहरी बललाई दिएको हो| हाल नेपाल भारत सीमानामा नेपालको तर्फबाट सशत्र प्रहरी बल तैनाथ छन्| खासगरी सीमा स्तम्भको सुरक्षा र रेखदेख, नेपाली भूमि अतिक्रमण हुनबाट बचाउनु, सीमाना क्षेत्रका नागरिकको सुरक्षा गर्नु, आतंकवादी क्रियाकलाप र घुपैठ रोक्नु, राजस्व चुहावट नियन्त्रण गर्नु लगाएत विभिन्न महत्वपुर्ण कुराहरु सशत्र प्रहरी बलको जिम्मेवारी भित्र पर्छ| त्यसको लागि ८८ ओटा वोर्डर आउट पोस्ट, २० वटा जिल्ला मा सीमा सुरक्षा कार्यालय, ८ स्थान मा भन्सार तथा राजस्व सुरक्षा गुल्म मार्फत सशत्र तैनाथ छन्| त्यस्तै चीनसँग सीमाना जोडिएको जिल्लामध्ये सिन्धुपाल्चोक, रसुवा, दार्चुला र मुस्ताङमा १/१ वटा सीमा सुरक्षा गुल्म,सिन्धुपाल्चोक र रसुवा मा भन्सार तथा राजस्व सुरक्षा गुल्म गरि कुल देश भरि जम्मा १२२ ईकाई हरु बाट झन्डै ११ हजार को संख्या मा सशत्र प्रहरी बल तैनाथ छन् जुन अत्यन्त न्यून संख्या हो|

नेपालसँग सीमाना जोडिएको स्थानमा भारतले अत्याधुनिक हतियार सहित सशत्र सीमा सुरक्षा बल (एसएसबी) तैनाथ गरेको छ| झन्डै हरेक २-३ कि.मी को दुरीमा पर्नेगरि भारतले ४७१ वटा  बोर्डर आउट पोस्ट राखेको छ| जहाँ नेपालको सीमानामा नेपालले ८८ बोर्डर आउट पोस्ट  मात्र राख्न सकेको छ| प्रष्ट छ, नेपालले आफ्नो  कयौ भू-भागमा नेपाली सुरक्षाकर्मी २४ घण्टा उपस्थिति गराउन सकेको छैन| जसको गलत फाइदा अपराधीले लिन्छन् भन्दा गलत नहोला| भारतीय सशत्र सीमा सुरक्षा बल  २४ सै घण्टा आफ्नो भूमिमा गस्ती गर्छन, जुन नेपाली भूमि पटि त्यहि रुपमा हुन् सकेको छैन | भारतले नेपाल र भुटानसँगको सिमानाको सुरक्षा गर्ने जिम्मा सीमा सुरक्षा बललाई सुम्पेको छ| भारतीय सीमा सुरक्षा बलको जनशक्ति झन्डै ७७ हजार छ भने २०१८ सम्ममा ९२ हजार पुग्ने लक्ष्य राखेको देखिन्छ| जुन नेपालको सशत्र प्रहरी भन्दा  तीन गुणा धेरै हुने छ|

सन् २०१५ जुन ४को दिन भारतको मणिपुरमा विद्रोहीले आक्रमण गर्दा १८ सैनिकको ज्यान गयो| ५ दिन पछि भारतीय सेनाले म्यानमारसँगको सीमाबाट १० कि.मी भित्र पसी विद्रोहीविरुद्द सैनिक अप्रेसन गर्‍यो| लगतै भारत पूर्व सेनाध्यक्ष जनरल शंकर राय चौधरीले म्यानमारमा जस्तो सैनिक अप्रेसन अरु छिमेकी मुलुकमा पनि गर्न सकिने बताए| भलै शंकर राय चौधरीको भनाई पाकिस्तानतिर लक्षित भएपनि भारत बिस्तारै आफ्नो नरम शक्ति मात्र होइन गरम शक्ति पनि हेपाहा प्रवृतिबाट छिमेकीसँग बढाउँदै लगेको प्रष्ट हुन्छ।

सुरक्षा चासो

भारतले सधैंजसो प्राथमिकतामा राखेको विषय हो, सुरक्षा| भारतले सुरक्षासँग विशेष त जाली भारतीय मुद्राको नेपाल ट्रान्जिट र नेपालभूमि आतंकवादीले प्रयोग गर्नसक्ने सम्भावना उठाउने गरेको छ| नेपाल-भारत खुल्ला सीमानाको गलत फाइदा यी दुई तत्वले उठाउन सक्नेप्रति भारतले मुख्य चिन्ता देखाउँदै आएको छ| भारत आतंकवादीको निशानामा पर्दै आएको छ| २०१६ को सुरुवातमा नै पठानकोट हमला भयो|

नेपाली भूमिबाट नेपाली सुरक्षा संयन्त्रको सहयोगमा इन्डियन मोस्ट वान्टेडहरु बेलाबेला पक्राउ पर्नुले भारतले उठाउँदै आएको सुरक्षा मुद्दालाई बल पुगेको छ| विगत केहि वर्षमा नेपालबाट आसामको पृथकतावादी सैन्य कमान्डर निरञ्जन होजाई, भारतको बम काण्डमा मुछिएका अब्दुल करिम टुन्डा र भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्धिनका सह–संस्थापक यासिन भट्कल नेपालबाट नै पक्राउ पगरेको थियो| तर यी माथिका व्यक्ति नियन्त्रण लिन नेपाल प्रहरीले खेलेको अहम भूमिकाबाट प्रष्ट हुन्छ नेपाली भूमि भारत विरुद्द प्रयोग हुन् नदिन नेपाल प्रहरी र  अन्य सुरक्षा संयन्त्र सधैं सजग छ|

त्यसो त भारतसँग नेपालको पनि सुरक्षाचासो जोडिएको छ। अझ भारतको भन्दा महत्वपूर्ण छ। खुल्ला सीमानाका कारण नेपालमा भारतबाट साना हतियार कारोबार, विस्फोटक पदार्थ आयात, महिला तथा बालबालिकाको बेचबेखिन, अवैध तस्करी, संगठित अपराध, हिंसा हत्या घटना घट्ने गरेको पाइन्छ| यहि मधेश आन्दोलनमा पनि भारतीय भूमिबाट भएको घुसपैठ, नेपाली व्यापारीको अपहरण, हत्याजस्ता  घटना पनि भएका छन्|

आतंककारीको कुनै जात, धर्म र देश हुँदैन| उनीहरुको निशानामा जो पनि जुन देश पनि पर्न सक्दछ|  नेपालले विशेष त आफ्नो इन्टेलीजेन्स संयन्त्रलाई प्रभावकारी बनाउनु जरुरी छ| भारत र चीनसँगको जोडिएको सुरक्षा चासो मात्र होइन खासगरी नेपाल को पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने बलियो क्षेत्र हो| शान्ति भए मात्र पर्यटक आउँछन्| त्यसैले शान्ति सुरक्षा कायम राखी राख्न नेपालले आधुनिक सुरक्षा प्रणाली अपनाउन पर्दछ| तसर्थ सुरक्षा चासो दुवै देशको मूलचिन्ता हो। यसको समाधान एक आपसमा आधुनिक सुरक्षा प्रणाली, सूचनाको आदानप्रदान, आधुनिक सीमा व्यवस्थापन, काउन्टर पार्ट मिटिङको निरन्तरता हुनु जरुरी छ|

प्रकाशित मिति: बुधबार, फाल्गुण ५, २०७२ १३:४८:२१

http://setopati.com/blog/41693/

 

Social Sharing
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>