भूगोल को सिमाना मानव जातिले कोरे पनि मानवियताको भने सिमाना देखिएन। नेपालमा धर्ती काम्दा भूगोलको अर्कै कुनामा बसेको मानव जातिको मुटु दुख्यो। लाखौंलाख विदेशीहरुले नेपालमा राहत पठाउन सुरु गरे। विभिन्न राष्ट्रमा सरकाले नै नेपाल मा सहयोग गर्न आफ्ना देशका नागरिकलाई आव्हान गरे भने कति देशमा नागरिकहरुले आफैं नेपालमा राहत पठाउन कम्मर कसेर लागि परे । बेलायतको एउटा शहर हो लिभरपुलका बासिन्दा पनि चुप रहन सकेनन्। त्यहाँ सानो संख्यामा नेपालीहरु बस्छन्। यहाँ व्यवसायी, प्रोफेसर, विद्यार्थीहरु र केही भूपू गोर्खाहरु बस्छन्। नेपालमा भूकम्प गएपछि लिभरपुलवासीहरु एकाएक सहयोग गर्न अगाडी बढे। बेलायतमा अभिनेत्री जोहना लुम्लेले एकै दिनमा बेलायतबाट करौडौं रुपैया सङ्कलन गरिन्। त्यति मात्र होइन बेलायत सरकारले पनि सकेको मद्दत गरिराहेको छ। लिभरपुलवासीलाई त्यतिले चित्त बुझेन । उनीहरु अर्को छुट्टै लिभरपुल युनाईट फर नेपाल भन्ने सहयोग अभियानमा लागिपरे ।
डा. सारा पार्कर, जसलाई लिभरपुलकी नेपाली चेली भनेर चिनिन्छ, यो अभियानको नेतृत्व गरिरहेकी छिन्। उनी पेशाले लिभरपुल जोन मोर युनिभर्सिटीकी प्रोफेसर हुन्। नेपाल सम्बन्धि थुप्रै पुस्तक लेखेर खोज अनुसन्धान गरेकी सारा हरेको वर्ष २ / ४ पटक नेपाल पुग्छिन। हरेक वर्ष विधार्थीहरु नेपाल लिएर जाने गर्छिन डा. सारा। विशेष गरी कास्कीको सिक्लेस गाउँलाई आधार बनाएर समाजसेवा गरेकी साराले आज नेपालका धेरै दुर्गम ठाउँमा विभिन्न परोपकारी संघसंस्थालाई सहयोग गर्दै आएकी छन् । नेपाली भाषा राम्रोसँग बोल्ने सारा नेपाललाई माईती देश भन्छिन्। जब नेपाल मा भूकम्प ले विनास गर्यो अनि यी चेलीको आँखामा आँसु रोकिएन।
अध्यनका क्रममा मेरो पनि डा. सारा पार्करसँग करिब तीनचार वर्ष पहिलेदेखि गहिरो मित्रता गाँसिन पुग्यो। खासगरी डा.सारा पार्करसँग भेट हुनुमा मित्र हिमाल कार्कीको ठुलो हात छ। सायद हिमाल त्यो युनिभर्सिटीमा पिएचडी भर्ना नभएको भए यी मनकारी चेलीसँग भेट नहुन पनि सक्थ्यो । मेरो जीवनमा सारा र लिभरपुलवासीसँगको भेट एउटा महत्वपुर्ण र प्रेणादायी कार्यमा परिणत हुन पुग्यो ।
आज तिनै लिभरपुलवासीले नेपाललाई सहयोग गर्न दशौं हजार पाउण्ड भन्दा धेरै उठाईसके। उठेको रकम हेल्प नेपाल र अन्य दर्ता भएका च्यारिटी संस्था मार्फत नेपाल मा सहयोग गर्दैछन् । लिभरपुलमा शहरमा मे १ तारिख देखि भूकम्प परी मृत्यु भएकाहरुको सम्झनामा दिप प्रज्वलन गर्ने काम थालियो। यसको नेतृत्व गरिन डा. साराले। सारालाई दरिलो रुपमा साथ दिए त्यही सानो नेपाली बस्ती र लिभरपुलवासी बेलायतीले । मे १५ तारिखमा लिभरपुल युनाईट फर नेपाल भन्ने अभियन्ताहरुले मैन बत्ती बालेर ‘लाईट अप नेपाल’ भन्ने कार्यक्रम राखे। त्यहि दिन म पनि आफन्त गुमेको भारी मन बोकेर लन्डनबाट मैन बत्ति बाल्ने प्रार्थनामा सहभागी हुन् र उनीहरुको अभियानलाई साथ दिन लिभरपुल गएँ l जोन मोर युनिभर्सिटीको जोन लेनन आर्ट एण्ड डिजाईन को भब्य भवन भित्र बिहानैदेखि ‘लिभरपुल युनाईट फर नेपाल / लाईट अप नेपाल’ भन्ने ठूल्ठूला ब्यानर चारैतिर झुण्ड्याइएको थियो भने चौरमा नेपाल को ठुलो नक्सा बनाएर राखिएको थियो । नेपालको नक्साको बीचमा ठूलो नेपाल को झन्डा फरफहराइरहेको थियो। भवनको जताततै ‘प्रे फर नेपाल’, ‘नमस्ते’, ‘लाईट अप नेपाल’, ‘लिभरपुल युनाईट फर नेपाल’, ‘हेल्प फर नेपाल’ जस्ता कुराहरु लेखेर भित्ताहरु भरिएको थियो। दुइवटा टेलिभिजनमा नेपालको भूकम्प सम्बन्धि भिडियो र फोटोहरु चलिरहेका थिए भने त्यहाँ नेपालको डोको देखि शिरमा लाउने ढाका टोपी सम्म राखिएको थियो।
पञ्चकन्या अगाडी राखेर स्थानीय समय अनुसार साँझ साढे पाँच बजे दिप प्रज्वलन गरेर सुरु गरेको कार्यक्रम साराले सञ्चालन गरेकी थिइन्। धेरै विदेशी अनि थोरै संख्यामा नेपाली उपस्थित रहेको कार्यक्रममा जब डा.सारा बोल्दाबोल्दै नेपाल सम्झिँदै भक्कानिएर रुन थालिन के विदेशी के नेपाली सबैका आँखामा आंशु खस्न पुग्यो। यो कार्यक्रमसँगै विभिन्न अभियान गरेर करिब १० हजार पाउण्ड सङ्कलन गरिसकेका छन् लिभरपुलवासीले।
बैशाख १२ गते भूकम्प गएको करिब आधा घण्टापछि सामाजिक सञ्जालमा जोडिएका विदेशी मित्रहरुहरुले नेपाल र नेपाली, आफ्नो घरपरिवारबारे सोध्दै सन्देश पठाउन थाले । फेसबुक, टुईटर र ईमेलमा मेसेजहरु भरिन थाले। म भने एकोहोरो नेपालमा फोन लगाउँदै घरपरिवारबारे बुझ्न थालेँ । भूकम्प गएको दिन डा साराले धेरैचोटी मेसेज गरिन् तर करिब बेलायती समय अनुसार राती २ बजेतिर मात्रै मैले परिवारको असुभ समाचार यी चेलीलाई सुनाएँ ।
आफु जन्मेको गाउँ ध्वस्त भएको अनि आफन्त गुमेको पीडाले मन कतिबेला क्षतविक्षत भएछ थाहै भएन। धेरैचोटी सम्हालिन खोजेँ। मध्यरातमा घाईते हुनु भएकी दिदीसँग बल्लबल्ल कुरा गरेँ । करिब २ मिनेट पछि त्यहि पनि फोन काटियो । फेरि फोन लगाउने कोसिस गरेँ तर सबै प्रयास व्यर्थ भयो । त्यो रात कति पनि निद्रा परेन तर शरिरले भने थाकेर गति छोडी सकेको थियो। केहिबेर पछि फेरि फोन प्रयास गरेँ । आमाबुबासँग कुरा गरेपछि केहिबेर अलि सजिलो भएको अनुभूति गरेँ। अनि जन्मेको ठाउँमा सहयोग पठाउन सकेको जति प्रयास गरेँ। बिस्तारै थाहा भयो भूकम्पका कारण धेरै टेलिफोन लाईनहरु अवरुद्ध हुन् पुगेका रहेछन्। सेना प्रहरी उद्दारमा खटिसकेका रहेछन् ।
उता गाउँ घरमा भने उद्दार गर्ने कोहि थिएन। भूकम्प गएको १० दिन पछि मात्र नुवाकोट जिल्लाको थप्रेकको वडा नं. ९ मा राहत पुर्याउन सफल भएँ । जसमा मेरा दाजु माधव अधिकारीले नेतृत्वदायी भूमिका खेल्नु भयो। मेरो गाउँमा राहत पुर्याउन सहयोग गर्ने नेपाली सुरक्षाकर्मी, बेलायती उद्दार टोली, अमेरिकाको क्यालिफोर्निया बेसबाट उद्दारमा खटेको इन्जिनियर उद्दार टोलि र बेलायतमा बस्ने समाजसेवी मित्र दलकाजी गुरुङले मलाई प्रत्यक्ष रुपमा दुखद घडीमा धेरै साथ् दिए। मेरो गाउँमा उद्दार र राहत पुग्न नसके पछि अमेरिकन बेस भएको एउटा अंग्रेजी ब्लगमा ‘अ टेल प्रसनल एण्ड नेशनल ट्राजेडी’ भन्ने लेख प्रकाशित भयो। यो लेख प्रकाशित भएपछि नुवाकोटको थप्रेकमा उद्दार गर्न ढिला भयो भनेर ब्रिटिश उद्दार सहाराकी जुलिया र क्यालिफोर्नियाबाट डायनाले अमेरिकी दुताबासदेखि सयुंक्त राष्ट्रसंघको कार्यालयमा उद्दार र राहातमा पठाउन ठूलै दवाब दिएका थिए। आज ती मित्रहरु, जसले हामी पिडितको घाउमा मलम लगाउन अगाडि बढे तिनीहरु प्रति अत्यन्त कृतज्ञ छौं।
हुन् त रोएर आँसुमा जिन्दगी चलेको कहिँ देखिएको छैन। प्रकृति विपत्ती कसैले चाहेर पनि रोक्न नसक्ने रहेछ। नेपाल पिडामा पर्दा धेरै राष्ट्रहरुले सहयोग गरे। संसारमा एउटा मानवीय सहयोग र सदभाव भन्ने कुरा बलियोसँग गाँसेर बसेको छ भन्ने उदाहरण पनि बनेको छ। विदेशी सहयोग भनेको क्षणिक हो। विदेशीले सहयोग गरेर मात्र देश धनी हुन्छ भन्ने सोचाइ राखेमा हामीले कहिले पनि प्रगति गर्न सक्ने छैनौं। भूगोलको नक्साले दु:ख र पीडाको रोदनलाई छेक्दो रहेनछ।परेको बेलामा विदेशीले सहयोग गर्नु अत्यन्त सर्हानीय कुरा हो तर अब नेपाल बनाउन हामी नेपाली आफैं कम्मर कसेर अगाडी बढ्नु पर्ने बेला आएको छ। भूकम्पले धरहरा ढले पनि हामी नेपालीको धैर्य र ईमान्दारिता ढलेको छैन। आ-आफ्नो गाउँघर र शहर आफैं बनाउन कम्मर कसेर अगाडी बढौं। आजको हाम्रो युवापुस्ताले पसिना बगाए मात्र भोलिको सन्ततिले विकसित नेपालमा बस्ने अवसर पाउने छन्।
हामी नेपाली नेपालीबीच टुटेका फुटेका मनहरु फेरि एकजुट हुनैपर्छ। जातियता र क्षेत्रीयता पार्टी खोलेर एक आपसमा लड्ने होइन, यस्ता कुराहरुलाई भूकम्पसँगै श्रद्धाञ्जली दिनैपर्छ। अब समाज र देशमा जातियता र क्षेत्रीयताको पार्टी होइन हाम्रो ऎतिह्सिक पहिचान बोकेको धरहरा, बसन्तपुर दरबार, गोर्खा दरबार, नुवाकोट दरबार, स्यम्भुनाथ, देवालय र गुम्बाहरु पुन:निर्माण गर्ने सामाजिक अभियान बोकेको संगठन आवश्यकता परेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०७२ १७:१३:०६
http://global.setopati.com/anya/702/